बिर्तामोड ।झापाका विभिन्न स्थानमा प्रतिबन्धित जुवाजन्य गतिविधिसँग सम्बन्धित हाउजी खेल सञ्चालन भइरहेको भन्दै स्थानीयस्तरमा प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ।
शनिश्चरे, जयपुरलगायतका स्थानमा हाउजी खेल सञ्चालन भइरहेको र त्यसमा लाखौँ रुपैयाँको कारोबार हुने गरेको स्रोतको दाबी छ। मनोरञ्जनात्मक खेलका नाममा अनुमति लिएर जुवाजन्य गतिविधि सञ्चालन भइरहेको आरोपसमेत लागेको छ।
स्रोतका अनुसार झापाका विभिन्न स्थानमा सञ्चालन हुने हाउजीबाट सम्बन्धित निकायका केही व्यक्तिलाई रकम बुझाउने गरिएको दाबी गरिएको छ। यसमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको संरक्षण रहेको आरोपसमेत स्रोतले लगाएको छ। यद्यपि, यस्तो आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन।यस विषयमा प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी पोखरेलले हाउजीलाई 'मनोरञ्जनात्मक खेल' भनेर अनुमति लिएको बताएका छन्।
हाउजी खेल मनोरञ्जनका नाममा सञ्चालन भए पनि त्यसमा ठूलो रकमको दाउपेच र कारोबार हुने गरेको भन्दै यसको वैधानिकतामाथि प्रश्न उठेको छ। चिठ्ठा तथा जुवासँग सम्बन्धित गतिविधि कानुनको दायराभित्र रहेर मात्र सञ्चालन हुनुपर्ने कानुनी व्यवस्था छ।
अर्कोतर्फ, हाउजी सञ्चालन हुने स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा उपस्थिति रहने गरेको दाबीसमेत गरिएको छ। सुरक्षा निकायको उपस्थितिमा यस्तो गतिविधि कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा पनि प्रश्न उठेको छ।मनोरञ्जनात्मक खेलका नाममा जुवाजन्य गतिविधि भइरहेको हो वा होइन भन्ने विषयमा प्रशासनले स्पष्ट पार्नुपर्ने देखिन्छ। साथै, अनुमति दिने प्रक्रिया, खेल सञ्चालनको प्रकृति, आर्थिक कारोबार र सुरक्षा निकायको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक देखिएको छ।
यस विषयमा एउटा महत्त्वपूर्ण कानुनी पक्ष पनि छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ले जुवा खेल्न वा खेलाउन निषेध गरेको छ। तर नेपाल सरकारको स्वीकृतिमा मनोरञ्जनका लागि सञ्चालन हुने निश्चित खेल र अधिकारप्राप्त अधिकारीको स्वीकृतिमा सञ्चालन हुने चिठ्ठालाई अपवाद मानेको छ। त्यसैले हाउजीको नामभन्दा पनि खेलको प्रकृति, पुरस्कार, टिकटको मूल्य र अनुमति पत्रका सर्त महत्त्वपूर्ण हुन्छन्।




















