बिर्तामोड । झापाको बिरिङ खोलामा हुने छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । श्री छठ समाज सेवा समिति बिर्तामोडले छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

समितिले पूजाको व्यवस्थापनका लागि ९ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको कार्यक्रम संयोजक सन्तोष भगतले जानकारी दिए । अध्यक्ष संगिता रौनियारको नेतृत्वमा पूजासम्बन्धी व्यवस्थापनका काम अघि बढाइएको छ ।

छठ पूजाका लागि यहा १९० वटा घाट निर्माण भइरहेको छ । घाट निर्माणको काम सम्पन्न हुन लागेको समितिले जनाएको छ । पूजामा सहभागी हुने श्रद्धालु भक्तजनलाई सहज रूपमा पूजा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा कोशी प्रदेशका पुर्व मन्त्री एकराज कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सूर्य उपासनामा आधारित छठ पर्व नेपाली समाजको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । यस पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्छन् । छठ पर्वले प्रकृति, जल र सूर्यप्रतिको सम्मानसँगै सामाजिक सद्भाव, एकता र सहअस्तित्वको सन्देशसमेत प्रवाह गर्दै आएको छ ।

बिर्तामोडमा छठ पर्वलाई सामूहिक रूपमा मनाउने परम्परा बढ्दै गएको छ ।