झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा यस वर्ष पनि छठ पूजा महोत्सव भव्य रूपमा आयोजना हुने भएको छ। श्री कनकाई छठ सेवा समाजको आयोजनामा छठ पर्व–२०८३ लाई व्यवस्थित, भव्य र ऐतिहासिक बनाउने तयारी गरिएको हो।
समाजले पत्रकार सम्मेलनमार्फत महोत्सवका कार्यक्रम सार्वजनिक गरेको छ। समाजका अध्यक्ष खगेन्द्र महतोका अनुसार यस वर्षको छठ पर्वलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको उत्सवका रूपमा मनाइनेछ।
महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागितामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा गायक प्रीतम आचार्य र डम्बर नेपालीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। स्थानीय कलाकार माधव बेडुवाललगायत विभिन्न जातजाति र समुदायको संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि रहने समाजले जनाएको छ।
छठ पर्वको मुख्य दिन कात्तिक २९ गते सुरुङ्गा बजारबाट विभिन्न सांस्कृतिक झाँकीसहित भव्य शोभायात्रा निकालिनेछ। शोभायात्रा कनकाई माईको पूर्वी तटमा रहेको छठ घाटमा पुगेर समापन हुनेछ। सोही दिन साँझ ५ः३० बजे भारतको वाराणसीबाट आउने अनुभवी पण्डितहरूको समूहले विशेष गंगा आरती प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, समाजले धार्मिक तथा सामुदायिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। करिब २ करोड रुपैयाँको लागतमा सूर्य भगवान्को मन्दिर निर्माण गर्ने योजना अघि सारिएको अध्यक्ष महतोले जानकारी दिएका छन
त्यस्तै, सामुदायिक भवन निर्माणलाई पनि समाजले दीर्घकालीन योजनाका रूपमा अगाडि बढाएको छ। भवन निर्माण सम्पन्न भएपछि धार्मिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्न सहज हुने समाजको विश्वास छ।
समाजले छठ पर्वलाई सबै जातजाति, धर्म, भाषा र समुदायलाई जोड्ने साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित गर्न स्थानीय सरकार, राजनीतिक दल, संघसंस्था, उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।
'छठ हाम्रो आस्था हो, संस्कृति हाम्रो पहिचान हो र एकता हाम्रो शक्ति हो' भन्ने सन्देशसहित समाजले सबैलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।




















