बिर्तामोड । झापाको कन्काई हस्पिटलमा मंसिर २ गतेदेखि इन्डोक्राइनोलोजी (हर्मोन तथा ग्रन्थी रोग) सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन हुने भएको छ।

विगत २१ वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले विशेषज्ञ सेवाहरूलाई निरन्तर विस्तार गर्दै आएको जनाएको छ।

अस्पतालका अध्यक्ष युवराज डाँगीका अनुसार इन्डोक्राइनोलोजीमा डीएम उपाधि हासिल गरेका विशेषज्ञ चिकित्सक डा. अन्जल बिष्ट ले मंसिर २ गतेदेखि सेवा प्रदान गर्नेछन्।

डा. बिष्टले विशेषगरी मधुमेह (डायबिटिज), थाइराइड, पिट्युटरी ग्रन्थी, एड्रिनल ग्रन्थी तथा शरीरमा हुने विभिन्न हर्मोनसम्बन्धी रोग र समस्याहरूको विशेषज्ञ उपचार प्रदान गर्नेछन्।

वीर अस्पतालमा लामो समयसम्म अध्ययन, अध्यापन तथा चिकित्सकीय अभ्यासको अनुभव हासिल गरेका डा. बिष्ट इन्डोक्राइनोलोजी क्षेत्रमा अनुभवी विशेषज्ञ चिकित्सक हुन्। उनले रुमाटोलोजी (बाथरोग) तथा क्लिनिकल इम्युनोलोजीमा समेत फेलोसिप प्रशिक्षण पूरा गरेका छन्। उनको शैक्षिक, अध्यापन तथा चिकित्सकीय अनुभवले बिरामीहरूलाई गुणस्तरीय विशेषज्ञ उपचार सेवा प्राप्त गर्न थप सहयोग पुग्ने अस्पतालले विश्वास लिएको छ।

अनुभवी चिकित्सक, आधुनिक प्रविधि तथा सर्वसुलभ स्वास्थ्य सेवाका कारण कन्काई हस्पिटलमा बिरामीहरूको आकर्षण बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ। नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि दैनिक रूपमा बिरामीको चापसमेत बढ्दै गएको छ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरूलाई पनि सर्वसुलभ शुल्कमा उपचार तथा विशेष छुट प्रदान गर्दै आएकाले कन्काई हस्पिटल सर्वसाधारण बिरामीहरूको रोजाइको अस्पताल बन्दै गएको छ।

यसैगरी कन्काई हस्पिटलमै डा. लभराज लोहनीले दैनिक रूपमा बाथरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन् भने डा. रबिन रेग्मी र डा. केशव मण्डलले बालरोग सेवा प्रदान गर्दै आएका छन्। अस्पतालको अर्थोपेडिक विभागमा डा. रितेश थपलिया र डा. रोशन अटल, सर्जरी विभागमा डा. लक्ष्मण रानामगर र डा. सरोज यादव तथा फिजिसियनका रूपमा डा. धिरज ताम्राकार कार्यरत रहेको अध्यक्ष डाँगीले जानकारी दिए।

अस्पतालले विभिन्न अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नुका साथै उपचार तथा परीक्षण सेवामा समेत विशेष छुट प्रदान गर्दै आएको छ।

अस्पतालले निकट भविष्यमै सिटी स्क्यान सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ। बिरामीहरूको सहजताका लागि चारतले भवनमा आधुनिक लिफ्ट जडान गरी छिट्टै सञ्चालनमा ल्याइने अध्यक्ष डाँगीले जानकारी दिए। अस्पतालमा लागूऔषध प्रयोगसम्बन्धी समस्या भएका बिरामीहरूको समेत उपचार हुँदै आएको उनको भनाइ छ।

कन्काई हस्पिटलमा स्पाइन सर्जरी, अर्थोपेडिक सर्जरी, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, स्त्री तथा प्रसूति रोग, रुमाटोलोजी, हेपाटोलोजी, बालरोग, मुटुरोग, रेडियोलोजी, एनेस्थेसिया, फिजियोथेरापी तथा एनआईसीयूलगायतका विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाहरू उपलब्ध रहेका छन्।

अध्यक्ष डाँगीका अनुसार अस्पतालमा मेरुदण्ड तथा हाडजोर्नी, स्त्री तथा प्रसूति, बाथरोग, जनरल सर्जरी, मुटुरोग, मानसिक स्वास्थ्य, नवजात शिशु तथा बालरोग, नाक, कान, घाँटी, यौन तथा छालारोगलगायत विभिन्न उपचार सेवाहरू उपलब्ध छन्।