अर्जुनधारा । पतञ्जलि योग अर्जुनधारा नगर समितिमा नयाँ जिम्मेवारी पाएका अर्जुनधारा नगरपालिका–६ का योगगुरुहरूलाई वडा परिवारले विदाई गरेको छ।
वडा नं. ६ स्थित गरमकाली योग साधना केन्द्रमा २०८३ असोज १७ गते आयोजित कार्यक्रममा नगर समितिमा जिम्मेवारी पाएका गुरुहरूलाई सम्मान तथा शुभकामनासहित विदाई गरिएको हो।
पतञ्जलि योग अर्जुनधारा नगर समितिको सचिवमा देवेन्द्र न्यौपाने, संगठन सचिवमा पुष्पा रिजाल तथा सदस्यमा मोनिका लिम्बू, सुरेश कुमार ठाकुर, गोमा सिटौला चयन भएका छन्। यस्तै मिडिया प्रवाहको जिम्मेवारी डम्बर कुमारी नेपाललाई दिइएको छ।
कार्यक्रमको अध्यक्षता अर्जुनधारा–६ महिला योग समितिकी संयोजक इन्दिरा पौडेलले गरेकी थिइन्। कार्यक्रम सञ्चालन वडा नं. ६ का संयोजक देव न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य चन्द्र महतराले राखेका थिए।
कार्यक्रममा अर्जुनधारा–६ की पूर्व सचिव पुष्पा रिजालले हालका सचिव देवराज बराललाई विगतमा भएका गतिविधिसम्बन्धी जानकारी गराउँदै महत्वपूर्ण रजिस्टर हस्तान्तरण गरेकी थिइन्। त्यसैगरी, वडा नं. ६ का सहशिक्षक सुरेश श्रेष्ठले गमस्ता योग साधना केन्द्रमा दीप प्रज्वलनका लागि पानस उपलब्ध गराएको भन्दै उनलाई सम्मान गरिएको थियो।
कार्यक्रममा वडा नं. ६ अन्तर्गतका विभिन्न योग साधना केन्द्रका गुरु तथा योग साधकहरूको सहभागिता रहेको थियो।
नगर समितिमा नयाँ जिम्मेवारी पाएका गुरुहरूले अर्जुनधारा नगरपालिकाका विभिन्न वडामा योग, अनुशासन, संस्कार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने गतिविधिमा भूमिका निर्वाह गर्ने जनाइएको छ। कार्यक्रममा जिम्मेवारीसँगै योग अभियानलाई नगरस्तरमा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।




















