बिर्तामोड । विश्व मुटु दिवस २०२६ को अवसरमा बिएण्डसी टिचिङ हस्पिटलमा एकदिने मुटु सचेतना कार्यक्रम आयोजना गरिएको छ। बिएण्डसी टिचिङ हस्पिटलको आयोजना तथा नेपाल हर्ट फाउण्डेसनसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

3786ab66-8de8-4674-9432-cd2ff5b05ffd

कार्यक्रममा बिएण्डसी टिचिङ हस्पिटलका डा. उमेश यादवले सहजीकरण गरेका थिए। उनले सुगर र उच्च रक्तचाप पनि मुटु रोगसँग प्रत्यक्ष सम्बन्धित समस्या रहेको बताए। मुटु रोगका कारण आर्थिक अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था आउन नहुने उनको भनाइ थियो।

heart 1

डा. यादवले आर्थिक रूपमा विपन्न नागरिकलाई मुटुसम्बन्धी उपचार निःशुल्क उपलब्ध गराउन आफूहरू तयार रहेको बताए। तर आर्थिक अवस्था कमजोर नभएका सम्पन्न व्यक्तिहरूले समेत आफूलाई विपन्न देखाएर निःशुल्क उपचारको माग नगर्न उनले आग्रह गरे।

नेपाल हर्ट फाउण्डेसनले यसअघि विभिन्न स्थानमा सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) तालिम सञ्चालन गरिसकेको कार्यक्रममा जानकारी गराइएको थियो। चाडपर्वलगत्तै झापाका १५ वटै स्थानीय तहमा सीपीआर तालिम सञ्चालन गर्ने तयारी रहेको नेपाल हर्ट फाउण्डेसन झापाका अध्यक्ष सन्तोष अग्रवालले बताए।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजेश कुमार दास, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सञ्जय गुप्ता, जिल्लास्थित सरकारी अस्पतालका चिकित्सक तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।