झापा । नेपाल हृदयरोग निवारण प्रतिष्ठान, झापाको आयोजनामा सिपिआर सम्बन्धी एकदिने तालिम आगामी साउन २९ गते बिर्तामोडमा सञ्चालन हुने भएको छ।
पूर्वाञ्चल क्यान्सर अस्पतालको अडिटोरियममा तालिम आयोजना हुनेछ।
तालिमलाई बी एण्ड सी मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्डियो विभाग ले प्राविधिक सहयोग गर्नेछ।
कार्यक्रमलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ सुरुङ्गा, रोटर्याक्ट क्लब अफ बिर्तामोड, रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन तथा बिर्तामोड रन क्लब ले सहयोग गरेका छन्।

सिपिआर भनेको के हो?

सिपिआर भनेको 'हृदय-फोक्सो पुनरुत्थान' गर्नु  हो । 
साधारण भाषामा: मुटु अचानक बन्द भयो वा सास फेर्न छोड्यो भने, रगत र अक्सिजनलाई मस्तिष्क र शरीरका महत्वपूर्ण अंगमा पुर्याउन बाहिरबाट गरिने आपतकालीन उपाय हो।

यो कहिले गरिन्छ?
- कसैको मुटुको धड्कन अचानक रोकियो भने 
- डुबेर, करेन्ट लागेर, वा सास रोकिएर बेहोस भयो भने
- एम्बुलेन्स नआउन्जेल सम्म

सिपिआरमा के गरिन्छ?
छातीको बीचमा दुवै हातले छिटो र गहिरो गरी थिच्ने। यसले मुटुको काम गर्छ रगत पम्प गर्छ। एक मिनेटमा १०० देखि १२० पटक थिच्ने ।  बिरामीको मुखमा मुख राखेर २ पटक सास फुक्ने। यसले फोक्सोमा अक्सिजन पुर्याउँछ।