झापा । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
मंगलबार राति करिब १०ः४० बजे राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार बाह्रदशी गाउँपालिका–३ निवासी २० वर्षीय गोपाल ताजपुरिया र मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–२ निवासी १७ वर्षीय अशोक राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापछि धान काट्ने मेसिन छाडेर चालक फरार भएका छन् । प्रहरीले फरार चालकको खोजीकार्य जारी राखेको छ ।
दुवै मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल र धान काट्ने मेसिन प्रहरीले नियन्त्रणमा लिएको छ ।



















