बिर्तामोड । नेपाली क्लोथिङ ब्रान्ड ‘चिनो’ले दशैँलाई लक्षित गर्दै बिर्तामोडमा आजदेखि चारदिने ‘वेयरहाउस सेल’ सुरु गरेको छ।
सेलमा क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतका पहिरन छुट मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ। आफ्नै फ्याक्ट्रीमा उत्पादन गरिएका कपडा फ्याक्ट्रीबाटै ग्राहकसम्म पुर्याउने भएकाले सुलभ मूल्यमा बिक्री गर्न सकिएको कम्पनीको भनाइ छ। सेलमा थोक तथा खुद्रा दुवै बिक्रीको व्यवस्था गरिएको छ।
सेल उद्घाटनका क्रममा विभिन्न मोडलले चिनो ब्रान्डका पहिरन प्रदर्शन गर्दै र्याम्प वाकसमेत गरेका थिए। सेल अवधिभर २ सय ९९ रुपैयाँदेखि १ हजार ४ सय ९९ रुपैयाँसम्मका कपडा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
चिनोले यसअघि सुनसरीको इटहरीमा पनि वेयरहाउस सेल सञ्चालन गरेको थियो। कम्पनीका अनुसार इटहरीमा ४० हजारभन्दा बढी ग्राहक सहभागी भएका थिए। त्यहाँबाट प्राप्त प्रतिक्रिया र ग्राहकको मागलाई ध्यानमा राख्दै बिर्तामोडमा सेल आयोजना गरिएको हो।
कम्पनीका निर्देशक राजेन्द्र डुम्रेका अनुसार दशैँअघि नै सेल आयोजना भएकाले इटहरीको तुलनामा बिर्तामोडमा अझ बढी ग्राहकको उपस्थिति हुने अपेक्षा गरिएको छ। “दशैँअघि नै सेल लागेकाले इटहरीभन्दा बढी ग्राहक आउने अपेक्षा गरेका छौँ,” उनले भने।
युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको चिनो ब्रान्डले नेपाली उत्पादनलाई प्राथमिकता दिँदै आएको डुम्रेले बताए। “नेपालीका लागि नेपाली ब्रान्ड, अहिले यही कुरा हाम्रो मूलमन्त्र भएको छ,” उनले भने।
चिनोका संस्थापक नवराज बजगाईंले नेपाली उत्पादनलाई विश्वस्तरीय बनाउन आफूहरूको प्रयास जारी रहेको बताए। कुनै समय गार्मेन्ट क्षेत्रमा नेपाली समुदायले बनाएको पहिचानलाई चिनोमार्फत पुनः स्थापित गर्ने अभियानमा आफूहरू लागेको उनको भनाइ छ।
हाल महिलाका कपडामा केन्द्रित चिनोले छिट्टै पुरुषका कपडासमेत उत्पादन गर्ने योजना बनाएको बजगाईंले जानकारी दिए।
कम्पनीका अनुसार चिनोले हाल करिब ७ सय जनालाई रोजगारी दिइरहेको छ, जसमा करिब ८० प्रतिशत महिला छन्। डिजाइन र कपडाको गुणस्तरमा जोड दिँदै आएको कम्पनीले दशैँको किनमेल गर्ने ग्राहक तथा फेसनप्रेमीलाई बिर्तामोडमा सञ्चालन भइरहेको वेयरहाउस सेलमा सहभागी हुन आग्रह गरेको छ।





















