झापा । मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा प्रतिबन्धित भारतीय चिठ्ठा बिक्री–वितरण गर्दै आएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा काँकरभिट्टा निवासी ४५ वर्षीय गोलु शेर्पालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनलाई असोज १७ गते बिहान करिब ११ बजे पक्राउ गरिएको हो।
प्रहरीले शेर्पालीको घरमा रीतपूर्वक खानतलासी गर्दा ‘Royal’ लेखिएको भारतीय चिठ्ठाका २३ बन्डल बरामद गरेको जनाएको छ। प्रत्येक बन्डलमा १०० वटा चिठ्ठा रहेको र प्रति चिठ्ठा १०० भारतीय रुपैयाँका दरले जम्मा २३ सय भारतीय रुपैयाँ बराबरका चिठ्ठा बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, उनको साथबाट नेपाली नगद ३६ हजार ५ सय रुपैयाँ समेत बरामद गरिएको छ।
पक्राउ परेका शेर्पामाथि प्रतिबन्धित भारतीय चिठ्ठा बिक्री–वितरण तथा कारोबार सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















