झापा । उपाधिको दाबेदार टोली बिर्तामोड भेट्रान्स अर्जुनधारामा जारी प्रथम सालबारी-मिलडाँडा नकआउट पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडले मेची भेट्रान्स काँकडभिट्टालाई ३-१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सेमिफाइनलमा बिर्तामोडले आयोजक सालबारी मिलडाँडा भेट्रान्सको सामना गर्नेछ ।
बिर्तामोडको जितमा कप्तान भुपेन लिम्बूले ह्याट्रिक पूरा गरे । खेलको १५औँ मिनेटमा कर्नरबाट आएको बललाई कप्तान भुपेन लिम्बूले हेडमार्फत गोल गरेर बिर्तामोडले अग्रता लिएको थियो । तर, ३२औँ मिनेटमा मेची भेट्रान्सले बराबरी गोल गरेर फर्किने प्रयास गर्यो । बिर्तामोडका गोलकिपर मीन बस्नेतको हातबाट फुत्किएको बललाई मेची भेट्रान्सका बिनोद लामाले गोलमा परिणत गरेका हुन् ।
३७औँ मिनेटमा कप्तान भुपेन लिम्बूले व्यक्तिगत दोस्रो गोल गरे । मेचीका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई भुपेनले सुन्दर गोल गरे । भुपेनले खेलको अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
खेलको प्लेयर अफ द म्याच विजेता बिर्तामोडका ह्याट्रिक गोलकर्ता भुपेन लिम्बू भए । उनले नगद ३ हजार रुपैया पुरस्कार पाए । बुधबारको पहिलो सेमिफाइनल खेल चारपाने युनाइटेड भेट्रान्स र झिलझिले भेट्रान्सबीच हुनेछ ।
असोज २४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी तथा उपविजेताले नगद ३१ हजार प्राप्त गर्नेछ । विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही ५-५ हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।




















