बिर्तामोड । झापासहित कोशी प्रदेशका विभिन्न स्थानमा प्रहरीले लागूऔषधविरुद्धको कारबाही तीव्र बनाएको छ। पछिल्लो एक दिनमा झापा, सुनसरी र इलामका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र गाँजासहित १० जनालाई पक्राउ गरेको छ।

झापाको मेचीनगर–६ स्थित पुरानो मेचीपुलबाट प्रहरीले खैरो हेरोइनसहित एक महिलालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी शिवसताक्षी–७ की २३ वर्षीया शर्मिला सावलाई शंका लागेर जाँच गर्दा उनको साथबाट ५ ग्राम १० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।

त्यस्तै, बिर्तामोड–६ स्यालडाँगीमा घरबाट गाँजासहित एक महिला पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी बुट्टावारीको संयुक्त टोलीले ३६ वर्षीया गीता महतोको घरमा खानतलासी गर्दा कोठामा लुकाएर राखेको ५२८ ग्राम गाँजा बरामद गरेको जनाएको छ।

यस्तै झापाको कमल गाउँपालिका–५ टुक्रे बजारबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले इलामको चुलाचुली–३ पेल्टिमारीबाट दमकतर्फ आउँदै गरेको मे ११ प ८१७७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चुलाचुली–३ का २४ वर्षीय निराज तामाङ, २० वर्षीय दिवान आङथुपो र ३१ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार निराज तामाङको साथबाट बिक्रीका लागि छुट्टाछुट्टै पोका बनाएर राखिएको ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद भएको छ। उनीहरू सवार मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

उता, सुनसरीको इटहरी–१ आँपगाछी चोकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगदसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १९ वर्षीय रोजेश श्रेष्ठ, ४६ वर्षीया ज्ञानी चौधरी र ३० वर्षीय मुकेश चौधरी रहेका छन्। उनीहरूको साथबाट ८६० मिलिग्राम पदार्थ र ७ हजार ८ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

यसैबीच, इलामको चुलाचुली–३ पेल्टिमारीबाट पनि प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये निराज तामाङको साथबाट प्लास्टिकसहित १७ ग्राम ९६० मिलिग्राम र प्लास्टिकबाहेक ११ ग्राम १५० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।