झापा र सुनसरीमा प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१० शिवनारायण टोलस्थित मोहन गुरुङको घरबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको हो। बुधबार दिउँसो गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरबाट प्लास्टिकसहित ७ ग्राम ८७० मिलिग्राम र प्लास्टिकबाहेक ५ ग्राम ८५० मिलिग्राम धुलो पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीले दुई थान मोबाइल र नगद १८ हजार ५० रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा इटहरी–१० का ४१ वर्षीय मोहन गुरुङ, उनकी श्रीमती ४९ वर्षीया कुमारी राई (गुरुङ) र इटहरी–४ का २३ वर्षीय अर्जुन काफ्ले रहेका छन्।

यस्तै, झापाको बिर्तामोडमा ४८० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–३ स्थित किङगसबेरी होटल अगाडि पूर्व–पश्चिम राजमार्गमा सिटी सफारी जाँच गर्ने क्रममा बिर्तामोड–१ का ४० वर्षीय सन्तोष राजवंशी पक्राउ परेका हुन्।

प्रदेश १–०१–००२ ह ७८६६ नम्बरको सिटी सफारीमा लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले राजवंशीलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई सम्बन्धित प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ।