झापा । झापा मेचीनगरको धाइजन तथा आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको नयाँ हास्य टेलिशृंखला ‘हरि बिजोग’ यही भदौ महिनादेखि हरेक साता युट्युबमार्फत प्रसारण हुने भएको छ ।
टिएमपी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको टेलिशृंखलाको प्रत्येक एपिसोड करिब २० मिनेटको हुने निर्माण पक्षले जनाएको छ । स्थानीय सामाजिक, आर्थिक तथा सांस्कृतिक विषयवस्तुलाई हास्य तथा मनोरञ्जनात्मक ढंगबाट प्रस्तुत गर्ने उद्देश्यले ‘हरि बिजोग’ निर्माण गरिएको निर्देशक आदर्श थलङ लिम्बूले बताए ।
उनका अनुसार भदौ महिनाका लागि चारवटा एपिसोडको छायांकन तथा निर्माण कार्य पूरा भइसकेको छ । बाँकी एपिसोडका लागि पनि छायांकनको काम अघि बढाइनेछ ।
टेलिशृंखलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको अभिनय रहेको छ । चर्चित कलाकार विपीन प्रसाई, निर्देशक आदर्श थलङ लिम्बूसहित पूजा पाठक, मीना नेम्वाङ, उदय बेघा लिम्बू, दृष्टि लिम्बू, अप्सरा लिम्बू, अटल थलङ लिम्बू, पवन मेचे, ओमप्रकाश खापुङ, धनबहादुर पन्धाक, सुवोध चम्लागाईं, लोकबहादुर मेचे, नितेश गहतराज, रोजेश प्रसाई, अमित पराजुली, मनोज कार्की, विपु लिम्बूलगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
‘हरि बिजोग’को निर्माता रुपन आङ्दाम्बे लिम्बू र सहनिर्माता पवन मेचे रहेका छन् । यसको छायांकन तथा सम्पादन सुवास लिम्बूले गरेका छन् ।
निर्देशक आदर्श थलङ लिम्बू मेचीनगर–९ निवासी कलाकार हुन् । उनी लामो समयदेखि कला क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले ठूलो पर्दाको चलचित्र ‘समयको माग’ मा अभिनय गरेका छन् भने यसअघि डकुमेन्ट्री, लघु चलचित्र तथा म्युजिक भिडियो निर्माण र निर्देशनसमेत गर्दै आएका छन् ।
२०७० सालदेखि कला क्षेत्रमा सक्रिय आदर्शले हालसम्म करिब एक सय म्युजिक भिडियो निर्माण गरिसकेको बताइएको छ । अभिनयसँगै निर्देशन र निर्माणमा समेत सक्रिय उनले स्थानीय परिवेश, समाज र यहाँका कथा–व्यथालाई पर्दामा प्रस्तुत गर्ने उद्देश्यले ‘हरि बिजोग’ निर्माण गरिएको बताए ।
स्थानीय कलाकार, स्थानीय परिवेश र स्थानीय विषयवस्तुलाई प्राथमिकता दिइएको ‘हरि बिजोग’ले मेचीनगर तथा आसपासको सामाजिक र सांस्कृतिक जीवनलाई मनोरञ्जनसँग जोडेर दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ । टेलिशृंखलाका नयाँ एपिसोडहरू हरेक साता टिएमपी प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।


















