बिर्तामोड । सडक मानवलाई निःशुल्क खाना खुवाउँदै आएको किङ गोर्खा फाउन्डेसन (केजीएफ) ले सामाजिक सेवासँगै भावी पुस्तालाई सकारात्मक सन्देश दिने उद्देश्यले ‘सयपत्री झिलिमिली फेष्ट २०८३’ आयोजना गर्ने भएको छ ।
केजीएफ मल्टिमिडियाको आयोजनामा आगामी कार्तिक १४ गते हुने फेष्टमा अभया एण्ड स्टिम इञ्जिन ब्याण्ड, र्यापर भ्योमा, बादल लिम्बू र प्रशान्त शिवाकोटीको सांगीतिक प्रस्तुति रहनेछ ।
गैरनाफामूलक संस्थाका रूपमा सामाजिक सेवामा सक्रिय केजीएफले सडक मानवलाई निःशुल्क भोजन उपलब्ध गराउँदै आएको छ । सामाजिक उत्तरदायित्वलाई मनोरञ्जनसँग जोड्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ फेष्ट आयोजना गर्न लागिएको संस्थापक विक्रम सुब्बाले बताए ।
केजीएफका सदस्य सजल पौडेलले भावी पुस्तालाई सकारात्मक सन्देश दिन आफूहरू यस अभियानमा लागेको बताए । उनका अनुसार सामाजिक सेवाप्रतिको भावना अभिवृद्धि गर्दै युवापुस्तालाई समाजप्रति जिम्मेवार बनाउन कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सामाजिक सेवामा समर्पित संस्थाले सांगीतिक कार्यक्रममार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । ‘सयपत्री झिलिमिली फेष्ट २०८३’ ले मनोरञ्जनसँगै मानवीय सेवाको सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ ।




















