बिर्तामोड । सन्तलाल–बृजमोहन गट्टानी स्मृति अर्जुनधारा हाफ म्याराथनको पुरुषतर्फ केन्याका जुलियस मुरिउकी वाहोमे र महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावल प्रथम भएका छन् ।

अर्जुनधारा जलेश्वरधामबाट सुरु भएको हाफ म्याराथनमा जुलियसले १ घण्टा २ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन् । पुरुषतर्फ तीर्थकुमार पुन दोस्रो र विक्रम लिम्बू तेस्रो भए ।
त्यस्तै, महिलातर्फ राज्यलक्ष्मीले १ घण्टा २१ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् । सम्झना लिम्बू दोस्रो र भारतकी प्रिया तामाङ तेस्रो भइन् ।
पुरुषतर्फ चौथोदेखि दशौँ स्थानसम्म क्रमशः नरेन्द्र सिंह रावल, गजेन्द्र राई, उमेश थापा, प्रीथी राई, कृष्णबहादुर परियार, विशाल तामाङ र अमन देवनाथ भए ।
महिलातर्फ चौथोदेखि दशौँ स्थानसम्म क्रमशः जुलेन राई, दिप्ती बस्नेत, इक्सा लिम्बू, रश्मा राई, मन्दिरा महतरा, सपना गदाइली र सञ्जीला राई भए ।
प्रतियोगितामा दुवै विधाका प्रथम हुनेले जनही १ लाख १ हजार १०० रुपैयाँ, दोस्रो हुनेले ७५ हजार १०० र तेस्रो हुनेले ५१ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गरे । चौथोदेखि दशौँ स्थानसम्मका धावकले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।
अर्जुनधारा जलेश्वरधाममा सुरु हुन लागेको ४४औँ अनुष्ठानको प्रचारप्रसारसँगै लागूऔषध दुर्व्यसन न्यूनीकरणको सन्देश फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
खेलप्रेमी तथा व्यवसायी मिलन बस्नेतको संयोजकत्वमा गठित आयोजक समितिले प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले लागूऔषध दुर्व्यसनमा संलग्न ब्यक्ति खेलाडी हुन नसक्ने बताए ।
कार्यक्रम प्रतियोगिता आयोजक समितिका सह-संयोजक प्रशान्त भण्डारीले सञ्चालन गरेका थिए ।




















