बिर्तामोड । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । दुधे रंगशालामा फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ एफसीले विभागीय टोली एपिएफ एफसीको सामना गर्नेछ ।
दिउँसो २ः४५ बजे हुने खेलमा दुवै टोलीले जितका लागि तयार रहेको दाबी गरेका छन् । झापा ११ ले उद्घाटन खेलमा कास्कीको आरएस पोखर्रा फसीलाई १०-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा विदेशी टोली भुटानको थिम्पु राभेन वुमन्स फुटबल क्लबलाई ७-० गोल अन्तरले पराजित गर्दै एपिएफले झापा ११ सँगको भेट पक्का गरेको थियो । एपिएफ गत वर्षको उपविजेता टोली हो ।
आज झापा ११ ले अघिल्लो खेलकै खेलाडी मैदान उतार्नेछ । दुईजना नयाँ अनुवभवी खेलाडी थप हुन सक्ने क्लबले जनाएको छ । संकटा क्लबमा रहेका अधिकांश खेलाडी झापा ११ को जर्सीमा दुधे रंगशालामा देखिनेछन् ।
एपिएफबाट अधिकांश खेलाडी राष्ट्रिय टोलीका सदस्य रहनेछन् । आजको जित निकाल्ने टिमले कम्तिमा पाँच लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।




















