दमक । झापाको दमकमा लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–९ प्रधानटोलस्थित एक घरमा लागूऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–९ निवासी २५ वर्षीय युनिक श्रेष्ठ र काठमाडौं महानगरपालिका–१० निवासी २५ वर्षीय साहिल केसीलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट प्लास्टिकसहित ४ ग्राम ५५० मिलिग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्लास्टिक हटाउँदा उक्त पदार्थको तौल २ ग्राम ६५० मिलिग्राम रहेको थियो।
त्यसैगरी, उनीहरूकै बयानका आधारमा दमक नगरपालिका–५ गौरसटोल निवासी ४९ वर्षीया गीता देवी राईको घरमा समेत प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा घरको कोठाभित्र खाटमुनि लुकाएर राखेको अवस्थामा प्लास्टिकसहित १७ ग्राम ६४० मिलिग्राम र प्लास्टिकबाहेक ७ ग्राम ८७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीनै जनाबाट गरी प्लास्टिकबाहेक कुल १० ग्राम ५२० मिलिग्राम लागूऔषध बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।




















