बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–९ मा मचिन्द्र सुब्बा स्मृति अन्तरपालिका स्तरीय तेस्रो भेट्रान नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
गोलधाप युवा क्लब अर्जुनधारा–९ को आयोजनामा आगामी पुस १ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा सञ्चालन गरिने आयोजक क्लबका अध्यक्ष सुरेन राईले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । भेट्रान खेलाडीबीच प्रतिस्पर्धा गराउँदै खेलकुदको विकास र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी अर्जुनधारा नगरपालिका–८ का वडाध्यक्ष कुमार उप्रेतीले सामाजिक एकता कायम गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनले खेलकुदले विभिन्न क्षेत्र र समुदायका मानिसलाई एकै ठाउँमा जोड्ने भएकाले यस्ता गतिविधिलाई स्थानीय तहबाट सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताले भेट्रान खेलाडीलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय क्षेत्रमा खेलकुदको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



















