बिर्तामोड । ७२ हजार शेयर सदस्य, चार अर्ब रुपैयाँको वासलात र चार जिल्लामा फैलिएको सेवा सञ्जाल । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत विस्तारलाई अब भौतिक पूर्वाधारसँग जोड्ने भएको छ ।

झापाको बिर्तामोड–४ मा करिब ६ करोड रुपैयाँको लागतमा तीनतले कार्यालय भवन निर्माण गर्न संस्थाले बुधबार शिलान्यास गरेको छ । सात वर्षअघि ७३ लाख रुपैयाँमा खरिद गरेको दुई कठ्ठा १६ धुर जग्गामा सुविधायुक्त लिफ्टसहितको भवन निर्माण हुन लागेको हो ।

२०६७ सालमा स्थापना भएको संस्थाले झापा, मोरङ, इलाम र पाँचथरमा ५२ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । संस्थाका अध्यक्ष सुवास भट्टराईका अनुसार मुख्य सेवा केन्द्रसँगै विपन्न सदस्यलाई लक्षित आठवटा लघुवित्त तथा समूह पनि सञ्चालनमा छन् ।

भवनको भुइँतलामा सुपरमार्केट, दोस्रो तलामा कार्यालय र तेस्रो तलामा बैठक हल निर्माण गरिने कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि ६ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

संस्थाको आर्थिक विवरणअनुसार कुल वासलात करिब चार अर्ब रुपैयाँ पुगेको छ । तीन अर्ब सात करोड रुपैयाँ लगानी गरेको संस्थाको शेयर पुँजी ३९ करोड, विभिन्न कोषमा ३३ करोडभन्दा बढी र निक्षेप दुई अर्ब ४७ करोड रुपैयाँ रहेको बस्नेतले बताए ।

संस्थाले सदस्यलाई सहज सेवा उपलब्ध गराउने, कार्यालय सञ्चालनलाई व्यवस्थित बनाउने र संस्थागत स्थायित्व कायम गर्ने उद्देश्यले आफ्नै भवन निर्माण गर्न लागेको जनाएको छ ।

भवनको शिलान्यास अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख बस्नेत, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, विभागीय प्रमुख मिनबहादुर अधिकारी, विजय बस्नेत (प्रेम) लगायतले संयुक्त रूपमा गरेका हुन् ।