अर्जुनधारा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अर्जुनधारा जलेश्वर धामको पानी पाइपमार्फत करिब दुई किलोमिटर टाढा रहेको कैलासघाटसम्म पुर्याएर दाहसंस्कार स्थलमा उपलब्ध गराउने घोषणा गरेका छन्।

अध्यक्ष राईले पार्टीका झापा जिल्ला संयोजक केशव भण्डारीलाई उक्त कामको संयोजन गर्न निर्देशनसमेत दिएका छन्। जलेश्वर धाममा रहेको पोखरीबाट ओभरफ्लो हुने पानीलाई पाइपमार्फत कैलासघाटसम्म पुर्याउने योजना रहेको बताइएको छ।
महाभारतकालीन किंवदन्तीअनुसार अर्जुनले गाई चराउँदै ल्याउने क्रममा गाईलाई तिर्खा लागेपछि बाण प्रहार गरेर पानी निकालेको स्थानका रूपमा अर्जुनधारा जलेश्वर धामलाई मानिँदै आएको छ। सोही स्थानमा अहिले पोखरी निर्माण गरिएको छ।
पोखरीबाट बग्ने अतिरिक्त पानीलाई कैलासघाटसम्म पुर्याउन सके दाहसंस्कारका लागि आवश्यक पानीको सहज व्यवस्था हुने विश्वास गरिएको छ।
अध्यक्ष राई गत शनिबार अर्जुनधारामा आयोजित जिल्ला स्तरीय सभालाई सम्बोधन गर्न झापा आएका थिए। सोही क्रममा उनले अर्जुनधारा जलेश्वर धामको दर्शन गरेका थिए। दर्शनका क्रममा स्थानीय अवस्थाबारे जानकारी लिएपछि उनले जलेश्वर धामको पानी कैलासघाटसम्म पुर्याउने योजना अघि सारेका हुन्।



















