बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले भन्सार छली ल्याइएको करिब ९ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।

बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी टोलको शनिश्चरे रोडबाट बिहीबार साँझ करिब ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले ९ लाख ५ हजार ४५ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानमा हुडी, ज्याकेट, बालबालिकाका ट्राउजर, विभिन्न प्रकारका भेस्ट, अमूल पिज्जा चिज, दूध पाउडर, मिल्किस्ट चिज बिस्कुट, हल्दीरामको पालक पनिर पाउडर, हल्दीरामको मटर पनिर, मिश्री लगायतका खाद्य तथा कपडा सामग्री रहेका छन्।

भन्सार छली गरी ल्याइएको आशंकामा नियन्त्रणमा लिइएका ती सामान हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्रता दिएको जनाएको छ।