दमक । झापाको दमकमा प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दमक नगरपालिका–२ निवासी २९ वर्षीय सन्तोष थापा रहेका छन्।

प्रहरीका अनुसार थापाले लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो।

मंगलबार राति करिब ९ बजे थापाको कोठामा तलासी लिँदा प्लास्टिकका स–साना पोकामा लुकाइराखेको लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको हो।

प्रहरीले प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम पदार्थ बरामद गरेको जनाएको छ। त्यस्तै, डिजिटल तराजु एक थान र नगद १४ हजार ५ सय रुपैयाँसमेत बरामद गरिएको छ।

बरामद सामग्रीसहित थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।