बिर्तामोड । झापामा सवारी दुर्घटनामा परेका दुईजनाको मृत्यु भएको छ ।

साउन ९ गते हल्दिवारीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको हो । हल्दिबारी –२ सूर्य होली चोकमा पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको मे ३ प २८० नं को मोटरसाइकलले पैदलयात्री हल्दिबारी २ बस्ने वर्ष ५८ का कृष्णप्रसाद भट्टराईलाई ठक्कर दिएको थियो ।

घाइतेलाई ओम साई पाथीभरा अस्पताल भद्रपुर लगेर उपचार भइरहेकोमा साउन ३० गते राति ८ः५० बजे अवस्था गम्भीर भएपछि घरमा ल्याई राखिएको थियो । साउन ३१ गते बिहान ८ः५० बजे आफ्नै घरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कचनकवल गाउँपालिका –१ चिया बगानमा जोत्दै गर्दा ट्रयाक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ । आइतवार प्र १–०१–००१ त ८९९२ नं को ट्रयाक्टरले भद्रपुर बस्ने मोहन अग्रवालको खेत जोतिरहेको थियो ।

सो खेत भारत बिहार किशनगंज जिल्ला जोरबारी जियापोखेर–७ बस्ने बाबुलाल मर्डीले कमाउँदै आएका थिए । भारत बिहार किशनगंज जिल्ला गिलाबारी बस्ने ट्रयाक्टर चालक अजय भट्टियाले जोत्ने क्रममा ट्रयाक्टर अचानक पल्टिएको थियो ।

ट्रयाक्टरमा सवार भारत बिहार राज्य किशनगंज जिल्ला जोरबारी जियापोखेर ७ बस्ने ८ वर्षीय सिमोन सोरेन घाइते भएका थिए । उनलाई आफन्तले उपचारको लागि भारततर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ