बिर्तामोड । ह्वाइटहाउस एजुकेसन फाउन्डेसनअन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एन्ड टेक्नोलोजी र बिर्तामोड रन क्लबले  बिर्तामोडमा पहिलोपटक ‘ह्वाइटहाउस रन फेस्ट–२०२६’ आयोजना गर्ने भएको छ।

स्वस्थ जीवनशैली, अनुशासन, सकारात्मक सोच र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले रन फेस्ट आयोजना गर्न लागिएको कलेजले जनाएको छ। कार्यक्रम भोली शनिबार बिहान ५:३० बजे आयोजना हुनेछ।

कलेजका अनुसार रन फेस्टमा बिर्तामोडवासी, विद्यार्थी, अभिभावक, युवा तथा खेलप्रेमीलाई सहभागी हुन आह्वान गरिएको छ। शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई जीवन निर्माणसँग जोड्ने अभियानअन्तर्गत कार्यक्रम आयोजना गर्न लागिएको कलेजले जनाएको छ।

यसैबीच कलेजमा विगत तीन दिनदेखि सञ्चालन भइरहेको राष्ट्रियस्तरको ह्याकाथन पनि शनिबार सम्पन्न हुँदैछ। देशभरबाट आएका १४० भन्दा बढी विद्यार्थी ह्याकाथनमा सहभागी भएका छन्। तीन दिनसम्म सहभागी विद्यार्थीले प्रशिक्षकको मार्गदर्शनमा आधुनिक प्रविधि, समस्या समाधान, टोलीगत कार्य, सिर्जनशील सोच र नवप्रवर्तनका क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्।

शनिबार हुने अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम टोलीलाई ५० हजार रुपैयाँ र द्वितीय टोलीलाई २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान तथा प्रमाणपत्र प्रदान गरिने कलेजले जनाएको छ। सहभागी सबै टोलीलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।

ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीलाई कलेजमा सञ्चालित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विभिन्न संकायका कार्यक्रममा छात्रवृत्तिसहित अध्ययनको अवसर प्रदान गरिने जनाइएको छ।

कलेजका अध्यक्ष युवराज शर्माले शिक्षा, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामार्फत युवालाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउने उद्देश्य रहेको बताए।

कार्यक्रमका आयोजक बिर्तामोड रन क्लबका अध्यक्ष आयुस अग्रवालले शिक्षा र प्रविधिसँगै स्वस्थ जीवनशैली तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले रन फेस्ट आयोजना गरिएको बताए।