झापा । झापाको झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा टिफरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
शनिबार साँझ करिब ५ः२० बजे बालुवा बोकेको ना.५ ख ६४९० नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका झापा गाउँपालिका–३ निवासी ६५ वर्षीय इशनलाल गणेशलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो।
उपचारकै क्रममा साँझ ६ः२० बजे चिकित्सकले गणेशलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि टिफर चालक झापा गाउँपालिका–३ कामटोली निवासी ३६ वर्षीय फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ। साइकल र टिफर घटनास्थलमै रहेका छन्।
घटनापछि साँझ करिब ६ः३० बजे स्थानीयले टिफरमा ढुंगा प्रहार गरी अगाडिको सिसा तोडफोड गरेका छन्। टिफरलाई सुरक्षित स्थानमा लैजाने पहल भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदले थप अनुसन्धान गरिरहेको छ।



















