अर्जुनधारा । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई नगदसहित सम्मान गरिएको छ।

IMG-20260713-WA0050

सम्मानित हुनेमा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बिक्रम मेचे, क्रिकेटका आईसीसी लेभल–१ का कोच तथा अम्पायर विनित बाँस्तोला, पूर्व राष्ट्रिय फुटबल खेलाडी देवेन्द्र तामाङ, तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक लक्ष्मी राजबंशी तथा राष्ट्रिय उसु निर्णायक एवं प्रशिक्षक पूजा खवास रहेका छन्। उनीहरूलाई जनही २१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

IMG-20260713-WA0057

त्यसैगरी, गौरादहमा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला च्याम्पियन बनेको अर्जुनधारा नगरपालिकाका ५६ जना खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा अर्जुनधाराले २२ स्वर्ण, ५ रजत र १४ कांस्य पदक जित्दै लगातार चौथो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।

IMG-20260713-WA0073

कार्यक्रममा नगरप्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

सो अवसरमा नगरप्रमुख गोम्देनले खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउँदै खेलाडीहरूको सफलताले अर्जुनधाराको शिर उच्च बनाएको उल्लेख गरे। उनले अध्ययन मात्र सफलताको एकमात्र माध्यम नभएको भन्दै खेलकुदमा समर्पित भएर पनि विशिष्ट पहिचान र उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे।