बिर्तामोड । झापाको बिर्तामोडका एक व्यक्ति अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसका आधारमा ओमनबाट पक्राउ परेका छन्। जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका बिर्तामोड नगरपालिका–३ का बिमल राजवंशीलाई पक्राउ गरी नेपाल ल्याइएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले राजवंशीविरुद्ध सन् २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो।

त्यसपछि एनसिबी काठमाडौं र एनसिबी मस्कट, ओमनको संयुक्त पहलमा राजवंशीलाई ओमनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि एनसिबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई कतार एयरवेजमार्फत नेपाल ल्याएको हो।

प्रहरीका अनुसार राजवंशी शनिबार साँझ ४ः२९ बजे नेपाल आइपुगेका थिए। नेपाल आएलगत्तै उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

राजवंशीमाथि जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।