बुद्धशान्ति । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ । बिर्तामोडले बेलबारी एफसीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हरायो ।

बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देबेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, बिवेक पौडेल र निशान लिम्बुले गोल गर्न सफल भए । बेलबारीका प्रशान्त अवस्थीको प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बुले बिफल बनाए ।  

खेलको २५ औ मिनेटमा बिर्तामोड युनाइटेडका अभिषेक गुरुङको क्रस पासमा आशिष चापागाईँले गरेको प्रहार बेलबारीका गोलरक्षक पुर्ण चेम्जोङले उत्कृष्ट बचाउ गरे । ३१ औं मिनेटमा देबेन्द्र तामाङले पेनाल्टी एरिया नजिकैबाट गरेको फ्रि किक गोलरक्षक चेम्जोङले पञ्च गरेर बचाए । ६८ औं मिनेटमा बैकल्पिक खेलाडी सुजन बिश्वकर्माले गरेको प्रहार गोलरक्षकले बचाउ गरेपछि खेलमा अग्रता लिनबाट बिर्तामोड बञ्चित भएको थियो ।

बेलबारीका तर्फबाट खेलको १८ औं मिनेटमाबिरेन लिम्बुको पावरफुल प्रहार गोलरक्षक सन्दिप लिम्बुले बचाए । ४१ औं मिनेटमा बिरेन लिम्बुकै प्रहार बिफल भयो । ५२ औ मिनेटमा निशान लिम्बुले गरेको प्रहार गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको म्यान अफ द म्याच बिजेता टिम बिर्तामोड युनाइटेडका सन्दिप लिम्बु घोषित भए । उनले नगद तीन हजार रुपैंयाँ पुरस्कार पाए । शनिबार हुने फाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको मानेभन्ज्याङ एफसीसँग प्रतिष्पर्धा गर्ने छ ।

बैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुुईसहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख, ट्रफी, उपबिजेताले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैंयाँ पुरस्कार पाउने खेल समिति सँयोजक मनेष दाहालले जानकारी दिए ।