बिर्तामोड । प्रसुती गराउन आएकी सुत्केरीको अवस्था गम्भिर भएपछि बिर्तामोडको मनमोहन अस्पतालमा उत्पन्न बिवाद सहमतिपछी अन्त्य भएको छ । जनप्रतिनिधि, अस्पताल प्रशासन, पीडित परिवार, प्रहरी र अधिकारकर्मीबीच भएको छलफलपछि बिवाद अन्त्य भएको हो । 
प्रसुती गराउन आएकी बिर्तामोड नगरपालिका–१ की २७ बर्षिया सिर्जना संग्रौलाको उपचारका क्रममा भएको लापरवाहीका कारण अवस्था गम्भिर भएको थियो । डाक्टर एकराज गौतमले अपरेसन गरी बच्चा जन्मिसकेपपछि सुत्केरीको अवस्था गम्भिर बनेको थियो । 
मनमोहन अस्पतालमा उनको थप उपचार हुन नसकेपछि बिर्तासीटी अस्पताल लगिएको थियो । बिर्तासीटी अस्पतालमा उपचार हुँदै गर्दा संग्रौलाको अवस्था गम्भिर भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।  
उपचार गर्दा सुत्केरीको अवस्था गम्भिर भएपछि उनका आफन्त र मनमोहन अस्पताल प्रसासनबीच बिवाद उत्पन्न भएको थियो । बिवाद बढ्दै गएर ठुलो भौतिक क्षति हुनसक्ने सम्भावनाका कारण प्रसासनले अस्पताल परिसरमा सयौं प्रहरी परिचालन गरेको थियो । मंगलबार पनि अस्पताल परिसरमा प्रहरीले सुरक्षा दिइरहेको छ । 
यसैबीच पीडित परिवार र अस्पताल प्रशासनबीच भएको वार्ता सहमतिमा अन्त्य भएको छ । अस्पताल प्रसासनले पीडित परिवारलाइ २० लाख रुपैयाँ राहत स्वरुप र सिसुको शिक्षा तथा स्वास्थ्यको लागि १५ लाख रुपैंयाँ बैंकमा जम्मा गर्ने, उपचारका क्रममा लागेको खर्च मनमोहन अस्पतालले व्यहोर्ने लगायतको सहमति भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । सहमतिसँगै मनमोहनमा उत्पन्न तनाब अन्त्य भएको छ ।