बुुद्धशान्ति । अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सिमित भएको भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेन्स कपको फाइनलमा प्रवेश गरेको छ । आयोजक आदर्श युवा क्लबलाई २–० गोल अन्तरले हराउँदै मानेभन्ज्याङ फाइनल प्रवेश गरेको हो । जितसँगै मानेभन्ज्याङले कम्तीमा एक लाख रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ ।

मानेभन्ज्याङको जितका लागि सुरज रसाइली र सौरभ तामाङले एक–एक गोल गरे । खेलको १६ औ मिनेटमा बिकी सिंहले दिएको पासमा सुरज रसाइलीले गोल गर्दे मानेभन्ज्याङलाई अग्रता दिलाएका थिए । सिंहको प्रहार पेनाल्टी एरियाबाट आदर्शका खेलाडीले क्लियर गर्न नसकेको मौकामा रसाइलीले दोस्रो बार च्याप्दै गोल गरेका थिए ।

मानेभन्ज्याङका लागि दोस्रो गोल खेलको ६१ औं मिनेटमा सम्भव भयो । कप्तान करण राईले दिएको पासलाई सौरभ तामाङले गोल गरे । आदर्शका खेलाडीले अफसाइडको अपिल गर्दै छोडेको बललाई रेफ्रीले गोल दिएका थिए ।

खेल अवधिभर बल पोजिसन राखेको आदर्शले स्कोर भने गर्न नसक्दा उपस्थित दर्शक निरास बनेका थिए । घरेलु दर्शकको उल्लेख्य समर्थन पाएपनि पाहुना टोलीको अगाडि आदर्श निरिह बनेको थियो । खेलको ५३ औ मिनेटमा आदर्शले पेनाल्टी पाएको थियो । आदर्शका सौरभ सुुब्बालाई बिपक्षी खेलाडीले पेनाल्टी एरियामा फल गरेपछि पेनाल्टी पाएको थियो । अनुुभवी खेलाडी  रोमन भुजेलले प्रहार गरेको  पेनाल्टी मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङले उत्कृष्ठ बचाउ गरेका थिए । खेलको ६६ औं मिनेटमा आदर्शका कप्तान पुजन थापाले गरेको कढा प्रहार पोष्टमा लागेर बाहिरियो ।

खेलको ११ औ मिनेटमा मानेभन्ज्याङका सुरज रसाईलीले दिएको क्रस पासमा करन राईले टच गरेको बल फ्रेममा पर्न सकेन । मानेभन्ज्याङले खेलमा अरु खतरा मुुभ बनाउन सकेको थिएन ।

मानेभन्ज्याङ अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सिमित भएको थियो । खेलको ५६औ मिनेटमा मानेभन्ज्याङका उमंग राई दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड खाँदै मैदान छोडेका थिए । त्यसैगरी ७० औ मिनेटमा प्रवेश रोय पनि दोहोरो पहेँलो कार्डका कारण मैदान छोडेका थिए । त्यसपछि खेलमा दवाबको सामना गरेको मानेभन्ज्याङले बिपक्षी खेलाडीलाई स्कोर गर्न भने रोकेको थिए ।

खेलको प्लेयर अफ द म्याच मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङ घोषित भए । उनलाई प्रमुख अतिथि बुद्धशान्ति ढुवानी मजदुर संघका अध्यक्ष भवेस राजबंशीले नगद तीन हजार रुपैंयाँ पुरस्कार दिए । बिहीबारको अन्तिम सेमिफाइनल खेल बिर्तामोड युनाइटेड एफसी र बेलबारी एफसी मोरङबिच हुने छ ।

अन्तिराष्ट्रय मजदुर दिवसको अवसरमा भएको आज भएको खेलमा बुद्धशान्तिका चारजना जेष्ठ मजदुरलाई सम्मान गरिएको थियो । जेष्ठ मजदुरहरु मदन राजबंशी, मस्लिम महमद, कालु राजबंशी र सुनिल राजबंशीलाई नगदसहित सम्मान गरिएको आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष दिपक सुुब्बा थेबेले जानकारी दिए ।