बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा देउमाई नगरपालिका घर भएका भ्यान चालक दिपेश राई छन् । 

घटनास्थलमा राई मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रकाश जवेगुले जानकारी दिए । दुर्घटनामा अर्का एकजना गंभीर घाइते भएका छन् । घटनामा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाे अवस्थामा उनलाई फेला पारिएकाे उनले बताए । 

बेहाेस भएकाे अवस्थामा घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको छ । दुर्घटनाका बारेमा गाडीधनी इलाम नगरपालिका ५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरुलाई जानकारी गराइएको छ । गाडी घटनास्थलमा नै रहेको डीएसपी जवेगुले बताए ।

इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नं. को मारुती भ्यान आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साईड भिरबाट पल्टिई दुर्घटना हो ।