बिर्तामोड । झापाको बुद्वशान्तिका राजनीतिक दल सम्बद्व युवाहरुले सोही स्थानका एक व्यक्तिको निजी जमिनबाट पुरुवा बिक्री प्रकरणमा कमिसन लिएको भन्ने आरोपको चर्को बिरोध गरेका छन् ।

बिभिन्न सञ्चारमाध्यममा बुद्वशान्तिका युवासंघ, तरुण दल र वाइसिएलको सेटिङमा गैरकानुनी रुपमा पुरुवा उत्खनन् गरेको समाचार  प्रकाशित भएको थियो । राजनीतिक दलका भातृ संस्थाले सेटिङमा पुरुवा उत्खनन् गरेको आरोपको उनिहरुले खण्डन गरेका हुन् । 

बुद्वशान्तिमा पत्रकार सम्मेलन गरेर उनिहरुले अभियोग पुष्टि गर्न चुनौती दिएका छन् । अन्यथा कानुनी कारवाहिमा जाने पत्रकार सम्मेलनमा बताइएको छ । 

केही दिनदेखि बुद्वशान्ति-७ का माधव अर्यालको निजी जमिनको पुरुवा उत्खनन् गरेर निर्माणाधिन एशियन हाइवेमा प्रयोग भइरहेको छ ।  त्यस क्रममा स्थानीय तह, स्थानीय राजनीतिक दल, तिनका भातृ संगठन र ठेकेदार संस्थाबीच आर्थिक चलखेल भएको आरोप लागेको छ । 

'हामीमाथी कमिसन खाएको भन्दै समाचार प्रशारण गरियो, यो आरोप प्रमाणित गर्न सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोध गरेका छौं, युवा संघ बुद्वशान्तिका नवराज लिम्बुले भने-'हामीमाथि लागेको आरोप प्रमाणित भए हामीलाई कारवाही होस, अन्यथा भ्रामक समाचार प्रशारण गर्ने सञ्चारकर्मीलाई कडा कारवाही हुनुपर्छ ।'

अभियोगको प्रशासनले छानबिन गर्नुपर्ने माग रहेको उनीहरुको भनाई छ । 'हामी सिडियो  कार्यालय गयौं, छानबिन गर्न अनुरोध गरेका छौं, तरुण दल बुद्वशान्तिका उपसभापति बालकुमार राईले भने-' त्यहाबाट न्याय मिलेन भने पत्रकार महासंघ र प्रेस काउन्सिलमा उजुरी हाल्छौं ।' सत्य तथ्य पत्ता लगाएरै छोड्ने अटोठ लिएको उनले बताए ।

'हामीले रकम लिएको भन्ने समाचार आएपछि आफै छक्क पर्यौ, कतै हाम्रो नाममा रकम असुलिरहेका पो छन् कि ! भनेर खोजी गर्यौं, वाईसीएलका अध्यक्ष बिनोद नेम्वाङले भने-'हाम्रो तर्फबाट त्यस्तो चलखेलमा कसैको संलग्नता नदेखिएपछि स्पस्ट पार्न यो पत्रकार सम्मेलन गरेका हौं ।' उनले अभियोग प्रमाणित नभएसम्म पुरुवा ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

केहिदिनअघि आर्थिक चलखेलका कारण गैरकानुनी रुपमा पुरुवा उत्खननमा सरोकारवालाको मिलेमतो रहेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । त्यसपछि बुद्वशान्तिका युवाले समाचार भ्रामक रहेको भन्दै चलखेलको प्रमाण सार्वजनिक गर्न अनुरोध गरेका छन् ।