-अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। 

        जिल्ला भूमि समस्या समाधान समिति झापाको तर्फबाट ‌ आवश्यक प्रक्रिया पूरा गरी अव्यवस्थित बसोबासी सात (७) परिवारलाई ‌ कुल  १-४-५ बिघा  जग्गाको स्वामित्व को लालपुर्जा वितरण गरिएको हो । 

     अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन तामाङ को अध्यक्षतामा सम्पन्न ‌ लालपुर्जा वितरण कार्यक्रमको प्रमुख आतिथ्यता ‌ झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी ‌ तथा भूमि समस्या समाधान समितिका संयोजक ‌ श्रवण कुमार पोखरेलले गर्नुभएको छ । 

        प्रमुख जिल्ला अधिकारी ‌ श्रवणकुमार पोखरेलका अनुसार जिल्ला भूमि समस्या समाधान समितिमा  ६२,०००‌ भन्दा बढी ‌ भूमिहीन दलित ,  भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूमि प्राप्तिका लागि आवेदन दिनुभएको छ। ‌         भूमिहीन दलित तर्फ २,८९३ जनाले निवेदन दिनुभएको छ भने ‌ भूमिहीन सुकुम्बासीतर्फ १५,७ २८ जनाले निवेदन दिनुभएको छ। ‌। अव्यवस्थित बसोबासीतर्फ ‌ झन् ठूलो संख्यामा ‌ ४१, ६६६ जनाले निवेदन दिनुभएको स्थिति छ। 

      जिल्लाका सबै १५ वटा स्थानीय तहको नेतृत्वमा  सक्रियताका साथ ‌छानबिन भइरहेको ‌ जनाउँदै ‌ प्रचलित कानुन बमोजिम मिल्ने ‌ निवेदनकर्ताहरूलाई  ‌ समितिको क्षमताको आधारमा ‌ उच्च प्राथमिकताका साथ लालपुर्जा वितरण गरिने ‌ प्रमुख जिल्ला अधिकारी तथा ‌ भूमि समस्या समाधान समितिका संयोजक ‌ श्रवण कुमार पोखरेलले ‌ बताउनुभएको छ।

     आज लालपुर्जा पाउने अव्यवस्थित बसोबासीहरूमा अर्जुनधारा ११ का सुनिता बिक समेत , रेणुका देवी दर्जी , राहन सिंह याखा , सरिता दर्जी ‌, बसन्त कुमार तामाङ , मुशान सुब्बा र रत्नबहादुर इङ्नाम गरी सात परिवार रहेकाछन्। उल्लेखित सात परिवारलाई ‌८,२२४ वर्गमिटर ‌ जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ ।