बिर्तामोड । गैरसंस्थागत माध्यमबाट वैदेशिक रोजगारीमा पठाउने प्रवृत्तिले श्रमिकको सुरक्षा जोखिममा परेको वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पंधाकले बताएका छन् ।

संघको दोस्रो वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पंधाकले ब्युटी पार्लर, कन्सल्टेन्सी तथा तालिम केन्द्रलगायतका संस्थाले कानुनी प्रक्रिया पूरा नगरी श्रमिकलाई विदेश पठाउँदा समस्या बढेको बताए ।

यस्तो माध्यमबाट विदेश जाने श्रमिकको रोजगारदाता, सम्झौता र गन्तव्यबारे यकिन विवरण प्राप्त गर्न कठिन हुने तथा समस्या पर्दा उद्धार, कानुनी सहायता र क्षतिपूर्तिमा समेत जटिलता आउने उनले बताए ।

बिहीबार बिर्तामोडमा सम्पन्न साधारणसभामा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथि थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सन्तोष पाठक, श्रम तथा रोजगार कार्यालय भद्रपुरका प्रमुख तिलक श्रेष्ठलगायतको उपस्थिति थियो ।

व्यवसायीबीच एकता कायम गर्दै सदस्य संस्थाको हकहित संरक्षण र वैदेशिक रोजगार व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउने उद्देश्यले संघ स्थापना भएको द्वितीय उपाध्यक्ष प्रकाश राईले बताए ।

झापाका १२७ म्यानपावर कम्पनी सदस्य रहेको संघले रक्तदान, बाढीपीडितलाई सहयोगलगायत सामाजिक सेवाका काम गर्दै आएको जनाएको छ ।