बिर्तामोड । झापा प्रहरीले अलग–अलग स्थानबाट लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
हिजो साँझ करिब २०:३० बजे दमक नगरपालिका–८ किराँत चोकस्थित आफ्नै घरमा प्रतिबन्धित लागुऔषध राखेर बेचबिखन तथा सेवन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले एलिस राज खरेललाई पक्राउ गरेको हो।
उनको कोठामा गरिएको खानतलासीका क्रममा खाटमुनी कालो प्लास्टिकभित्र पोका–पोका पारी राखिएको ५ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन तथा एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी दिउँसो १६:३० बजे भद्रपुर नगरपालिका–५ मेची पुल क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी ५० वर्षीया खैरुन खातुनलाई शंका लागी जाँच गर्दा उनले सागको मुठाभित्र लुकाई ल्याएको ३ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
दुवै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्बन्धित कसुरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



















