बिर्तामोड । बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापन अहिले दीर्घकालीन व्यवस्थापन प्रणालीबीचको विवादमा परेको छ। विगत ६ वर्षदेखि फोहोर संकलन गर्दै आएको निराकार सरसफाइ सेवा र केबिए बिच सहकार्य गरि फोहोर सन्कलन गर्ने सहमति भएता पनि ल्यान्ड फिल्डको समस्याले फोहोर उठ्न सकेको छैन ।
नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले भने प्रक्रिया पूरा नगरी पुरानै कम्पनीसँग सम्झौता थप गर्न नसकिने स्पष्ट पारेका छन्।
‘फोहोर व्यवस्थापनका लागि टेण्डर आह्वान गर्नुपर्छ,’ संग्रौलाले भने, ‘प्रक्रिया पूरा नगरी एउटा कम्पनीलाई दिँदा सार्वजनिक खरिद ऐनको विपरीत हुन्छ। हामी अनियमितता हुने गरी काम गर्दैनौँ।’
निराकारसँग नगरपालिकाको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता गत वैशाखमै सकिएको थियो। त्यसपछि अल्पकालीन कार्यादेशमार्फत असारसम्म उसैले फोहोर व्यवस्थापन गर्दै आएको थियो।
साउन महिना देखि वडा नम्बर ६ मा फोहोर लैजान अवरोध पछि नगर नगर पालिका को फोहोर पुर्ण रुपमा उठेको छैन नगरपालिका स्रोतको भनाइ छ।
स्थान अभाव भएको भन्दै फोहोर लैजान रोकिएपछि निराकारले प्रयोग गर्दै आएका फोहोर बोक्ने ट्याक्टरमा संकलित फोहोर थुप्रिएको छ। लामो समयदेखि फोहोर व्यवस्थापन गर्दै आएको कम्पनीले नै अचानक हात झिकेपछि शहरमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको नगरपालिकाको दाबी छ।
नगरपालिका स्रोतका अनुसार त्यसपछि नगरपालिकालाई पुरानै कम्पनीसँग पुनः सम्झौता गर्न बाध्य पार्ने अवस्था सिर्जना भएको थियो। तर, नगरपालिकाले त्यसलाई चुनौतीका रूपमा लिँदै वैकल्पिक व्यवस्थापन प्रणाली अघि बढाएको छ।
यही क्रममा नगरपालिकाले आफ्नो प्रमुख शेयर रहेको कनकाई–विर्ता–अर्जुन (केबीए) नवीकरणीय ऊर्जा कम्पनीमा कुहिने फोहोर लैजान थालेको छ।
केबीएमा फोहोर लैजानुअघि कुहिने र नकुहिने फोहोर अनिवार्य रूपमा छुट्याउनुपर्छ। कुहिने फोहोरबाट ग्यास तथा जैविक मल उत्पादन गर्ने योजना छ। खाना पकाउने ग्यासको माग उच्च रहेको अवस्थामा फोहोरबाट ग्यास उत्पादन गर्ने योजना महत्वपूर्ण मानिएको छ। उत्पादन हुने जैविक मलको पहाडी क्षेत्रमा समेत राम्रो माग रहेको बताइएको छ।
तर, यसका लागि बिर्तामोडको फोहोर संकलन प्रणालीमै परिवर्तन गर्नुपर्ने हुन्छ। घर, होटल, पसल तथा अन्य प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ।
नकुहिने फोहोरभित्र पनि सिसाजन्य, प्लास्टिकजन्य, नरिवलको जटा र कपडाजन्य फोहोर अलग–अलग गर्नुपर्ने हुन्छ। अहिले एउटै डस्टबिनमा सबै प्रकारका फोहोर जम्मा हुने भएकाले नयाँ व्यवस्थापन प्रणाली लागू गर्न चुनौती देखिएको छ।
उपप्रमुख संग्रौलाका अनुसार कुहिने फोहोर केबीएमा लैजाने र नकुहिने फोहोर व्यवस्थापनका लागि आवश्यक जमिनको खोजी भइरहेको छ।
‘फोहोर व्यवस्थापनको समस्या समाधान गर्न नगरपालिकाले हदैसम्मको प्रयास गरिरहेको छ,’ उनले भने।
नगरपालिका स्रोतका अनुसार कार्यपालिकामा सबै सदस्य एकमत भएर अघि बढ्ने हो भने बिर्तामोडको फोहोर व्यवस्थापन समस्या समाधान गर्न धेरै समय लाग्दैन। तर, कार्यपालिकाकै केही सदस्यबाट पुरानै कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिन दबाब आउन थालेपछि विवाद बढेको हो।
‘भोलि कार्यालय खुल्छ, कार्यपालिकाकै केही सदस्यले नगरप्रमुखलाई पहिलेकै कम्पनीलाई फोहोर व्यवस्थापन गर्न किन नदिएको भनेर प्रश्न गर्छन्,’ नगरपालिका स्रोतले भन्यो, ‘निराकारलाई नै फोहोर व्यवस्थापन गर्न दिन उनीहरूको के स्वार्थ छ, त्यो हामीले पनि पत्ता लगाउन सकेका छैनौँ।’
यद्यपि, पुरानो कम्पनीलाई जिम्मेवारी दिन दबाब दिने कार्यपालिका सदस्यहरूको नाम र उनीहरूको स्वार्थबारे नगरपालिकाले औपचारिक रूपमा कुनै प्रमाण सार्वजनिक गरेको छैन। त्यसैले यस विषयमा थप अनुसन्धान र सम्बन्धित पक्षको धारणा आवश्यक देखिन्छ।
नगरपालिकाको तर्फबाट
केबीएका प्रतिनिधि उमेश राउत भने ठूलो परिमाणमा एकैपटक फोहोर जम्मा भएकाले व्यवस्थापनमा केही समय समस्या देखिएको बताउँछन्।
‘एकैपटक धेरै फोहोर जम्मा भएर व्यवस्थापन गर्न अलि समस्या उत्पन्न भएको हो,’ राउतले भने, ‘अब बढीमा एक साताभित्र हामी फोहोर व्यवस्थापनको पहिलो चरण समाप्त गर्छौं।’
उनका अनुसार नगरपालिकाका धेरै स्थानको फोहोर उठाइसकिएको छ। अब बढी फोहोर उत्पादन हुने वडा नम्बर १, २, ३, ४, ५ र ६ मा दैनिक एउटा ट्याक्टर पठाएर फोहोर संकलन गर्ने तयारी छ।
नगरपालिकाले फोहोरलाई समस्याका रूपमा मात्र नभई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। त्यसका लागि स्रोतबाटै फोहोर वर्गीकरण गर्ने अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
अब बिर्तामोडको फोहोर व्यवस्थापनको मुख्य परीक्षा यही हुनेछ—पुरानै शैलीमा फोहोर उठाएर कतै पुर्ने कि फोहोरलाई नै स्रोतमा परिणत गर्ने? नगरपालिकाले दोस्रो विकल्प रोजेको दाबी गरे पनि त्यसलाई व्यवहारमा उतार्न कार्यपालिकाभित्रको राजनीतिक सहमति, कानुनी प्रक्रिया र नागरिकको सहयोग तीनवटै आवश्यक देखिन्छ।




















