झापा ।  प्रदेश कमिटीको निर्वाचन सकिएलगत्तै नेकपा एमालेको जिल्ला तहको निर्वाचनको चर्चा शुरु भएको छ । यसै क्रममा नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेसन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप शुरु भएको छ । अधिवेसनबाट हालका अध्यक्ष, उपाध्यक्ष र सचिवले नेतृत्वका लागि दौडधुप शुरु गरेका हुन् । एमालेले यसै बर्षभित्र जिल्ला तहका अधिवेसन गरिसक्ने योजना बनाएको छ । 

हालका जिल्ला अध्यक्ष दिपक कार्की फेरी एकपटक अध्यक्ष हुने दौडमा छन् । कार्की ९ औं अधिवेसनमा पनि अध्यक्षका प्रत्यासी थिए । सो अधिवेसनबाट हालका कोशी प्रदेश सांसद तथा पार्टीको प्रदेश कमिटीका पुर्व सचिब चिन्तन पाठक अध्यक्ष बनेका थिए । 

नेतृत्व चयनप्रति तिब्र असन्तुष्टी जनाउँदै अधिवेसनस्थल छोडेर हिडेका कार्कीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उपाध्यक्ष चयन गरियो । उपाध्यक्ष पदमा चयन भएका कार्कीले त्यो पद स्वीकार गरेनन् । पार्टीका गतिविधिमा उनी उपाध्यक्षको हैसियतमा सहभागी समेत भएनन् । भलै पार्टीले अर्काे उपाध्यक्ष मनोनयन भने गरेन । 

१० औं जिल्ला अधिवेसनमा कार्की अध्यक्ष बन्न सफल भए । अध्यक्ष ओलीको गृहजिल्ला झापामा सातौं अधिवेसनपछि हालसम्म अध्यक्षका लागि निर्वाचन भएको छैन । अर्थात ओलीको निर्णयका आधारमा जिल्लामा ‘सर्बसम्मत’ नेतृत्व चयन हुँदै आएको छ । यस अधिवेसनमा पनि अध्यक्ष ओलीले जसलाई चाहयो, उसैलाई अध्यक्षको चिठ्ठा पर्ने निश्चितै जस्तो छ । 

नेकपा एमालेले लालकिल्ला मान्दै आएको झापामा पार्टी निल हुँदा पनि कार्कीले २०६४ को चुनाबमा झापा क्षेत्र नम्बर ६ बाट एमालेको बिउ जोगाएका थिए । उनी दोस्रोपटक भएकोे संविधानसभा निर्वाचनमा पनि बिजयी बने । संविधान जारी भएपछि त्यस क्षेत्र अध्यक्ष ओली उम्मेदवार बन्दै आएको झापा ५ मा गाभिएपछि उनी उममेदवार बन्न पाएका छैनन् । त्यसपछि कार्की पार्टी राजनीतिमा सक्रिय छन् । ४० बर्षदेखि जिल्ला पार्टीको नेतृत्वमा कार्की छन् । 

अध्यक्षका अर्का प्रत्यासी हालका उपाध्यक्ष प्रेमबहादुर गिरी हुन् । उनी १० औं अधिवेसनमा नै अध्यक्ष हुने दाउमा थिए । तर, उपाध्यक्ष बनाएर उनका असन्तुष्टिलाई थामथुम गर्न पार्टी नेतृत्व सफल भएको थियो । संगठन निर्माणमा प्रभावशाली भूमिका खेल्दै आएका गिरी संविधानसभा सदस्यसमेत बनेका थिए । 

पार्टी राजनीतिभन्दा गैरसरकारी संस्था सञ्चालनमा कुशल गिरी यो पटक जसरी पनि नेकपा एमालेको झापा अध्यक्ष हुने अडानमा छन् । गिरी निकटका एमाले नेताका अनुसार उनी यो पटक सर्बसम्मत अध्यक्ष हुने दाउमा छन् । तर, आफ्नै गृहनगर खुदुनाबारीमा पार्टीलाई कमजोर बनाएको अपजस उनलाई लाग्ने गरेको छ । साविक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिकाका तीनवटै वडामा स्थानीय तहको निर्वाचनमा गिरीले समर्थन गरेका नेकपा एमालेका उम्मेदवारको पराजय पनि उनको राजनीतिक असफलता बन्ने निश्चित छ । 

अनेरास्ववियुबाट राजनीति शुरु गरेर पार्टीमा आएका हालका सचिब शिव ढुङगेल अध्यक्षको बलिया दाबेदार हुन् । ९ औं, १० औं अधिवेसनमै अध्यक्ष हुने दावी गरेका ढुङगेल पार्टी अध्यक्ष ओलीको बिश्वासपात्र मानिन्छन्् । पार्टीले खटाएको जिम्मेवारी पुरा गर्न दत्तचित भएर लाग्ने गरेका ढुङगेल अरु नेता तथा कार्यकर्तालाई मिलाएर अघि बढाउन सक्ने क्षमताका नेता मानिन्छन् । 

पार्टीको २०५५ भदौमा सदस्यता लिएका उनी बिद्यार्थी राजनीतिबाट पार्टी सम्पर्कमा जोडिएका हुन् । तारासम योङया जेलबाट मुक्त भएको दिन उनलाई बाबुले २०४३ पुष २४ मा योङयासँग भेट  गराएका थिए । त्यो भेट नै उनको पहिलो राजनीतिक भेट भएको ढुङगेल स्मरण गर्छन । ढुङगेलको घर रहेको पालिका कमलमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पराजित हुनु उनको राजनीतिक असफलताको कारण बन्न सक्छ । 

एमाले झापाको सातौं अधिवेसनपछि हालसम्म निर्वाचन मार्फत नेतृत्व चयन भएको छैन । सातौं अधिवेसनमा अध्यक्ष ओलीका नातेदार समेत रहेका दमकका रोमनाथ ओली र काँकडभिट्टाका रविन कोइरालाबीच अध्यक्ष पदमा प्रतिष्पर्धा भएको थियो । पार्टीका प्रभावशाली नेता केपी ओलीको गृहजिल्लामा निर्वाचन हुँदा उनले समर्थन गरेका उम्मेदवार पराजित भएका थिए । त्यो अधिवेसनपछि हालसम्म एमालेको जिल्ला अधिवेसनबाट ‘सर्बसम्मत’ नेतृत्व चयन हुँदै आएको छ । 

२०७४ को चुनावलगत्तै माओवादी केन्द्रसँग एकता भएपछि एमालेमा आन्तरिक लोकतन्त्र ठप्प जस्तै छ । पार्टी केन्द्रबाट सर्कुलरमा जाने निर्णयका आधारमा पार्टी कमिटीहरू बन्दै आएका छन् । तर त्यसरी नेतृत्वको मनोनयनमा बन्ने कमिटीहरू प्रभावकारी नहुँदा गत वर्ष सम्पन्न तीन तहको चुनावमा सोचे अनुरुपको नतिजा नआएको निष्कर्ष सहित एमालेले समय नपुग्दै (नेतृत्व चयनको दुई वर्ष) प्रदेश भन्दा मुनिका कमिटीहरूको अधिवेशन गर्ने निर्णय गरेको हो ।

यसै पेरीफेरीमा नेकपा एमालेको देशभर जिल्ला अधिवेसन हुन लागेको छ । अध्यक्ष ओलीको गृहजिल्ला भएका कारण झापाको अधिवेशनलाई अलि बढी महत्वका साथ हेरिन्छ । यो अधिवेसनमा अध्यक्ष हुने दौडमा रहेका तीन जना नै उम्मेद्वार पछि नहट्ने अडानमा छन् । यस जिल्लामा सर्बसम्मत नेतृत्व चयन गर्न यस पटक पार्टी अध्यक्ष ओलीलाई पनि सकस पर्ने अवस्था उत्पन्न भएको छ । तर, आकांक्षीहरुले ओलीको अगाडि फरक मत राख्न नसक्ने भएका कारण झापामा अन्यत्रको जस्तो निर्वाचनमा जाने अवस्था नआउन सक्छ ।