बिर्तामोड । झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेची भन्सार कार्यालय, बसपार्क तथा बजार क्षेत्रबाट यात्रुहरुलाई दुःख दिने कार्यमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान करिब ०८:३० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा बाट खटिएको प्रहरी टोलीले विशेष निगरानीका क्रममा उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई होटल, अस्पताल तथा धार्मिक स्थलसम्म पुर्याइदिने बहानामा तानातान गर्ने, अनावश्यक दबाब दिने र हैरानी सिर्जना गर्ने कार्यमा उनीहरु संलग्न रहेका थिए।
नियन्त्रणमा लिइएका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।




















