बिर्तामोड । झापाको दमक नगरपालिका–३ बेलडाँगी शिविर क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्राप्त जानकारी अनुसार स्थानीय ५४ वर्षीय तुल बहादुर बिष्ट चैत १९ गते बिहान करिब १०:०० बजे घर नजिकै रहेको हुम्से–दुम्से सामुदायिक वनमा बाख्राका लागि घाँस काट्न गएका थिए। त्यसपछि उनी घर नफर्किएपछि परिवार तथा छरछिमेकीले खोजी कार्य सुरु गरेका थिए।

आज चैत २३ गते बिहान करिब ०९:०० बजे खोजतलास गर्ने क्रममा उक्त सामुदायिक वनमै उनको शव फेला परेको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलको अवस्था हेर्दा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।