बिर्तामोड । कनकाई नगरपालिका–४ कोटिहोमस्थित पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

हिजो दिउँसो करिब २ बजे दुर्गापुरबाट माईखोला तर्फ मलामी बोकेर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्र्याक्टरबाट सहचालक कनकाई नगरपालिका–१ निवासी अन्दाजी २५/२६ वर्षीय बिनोद दनुवार खसेर गम्भीर घाइते भएका थिए।

घाइते दनुवारलाई तत्काल उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गा लगिएको थियो। त्यहाँ उपचार भइरहेको अवस्थामा थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको थियो।

बाहिरी चोटपटक खासै नदेखिए पनि अस्पताल पुर्‍याएपछि चिकित्सकले जाँच गर्ने क्रममा दिउँसो करिब २:५० बजे उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक सुवास ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले ट्र्याक्टर चालक कनकाई–१ निवासी राजु नेपाली र ट्र्याक्टरलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।