झापा । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रमा आइतबार एक बालक खोलाले बगाउँदा बेपत्ता भएका छन्।
हिजो दिउँसो करिब १:३० बजेतिर फुङलिङ नगरपालिका–२ हान्द्रुङ र मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको बीचबाट बग्ने तमोर खोलामा नुहाउने क्रममा ९ वर्षीय फुर्वा शेर्पालाई खोलाले बगाएको हो
उनी मेरिङदेन गाउँपालिका–६ नाल्बो घर भई हाल फुङलिङ–२ धोक्रेमा हेमन्त श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए।
घटनाबारे बालकका बुबा निङ्मा शेर्पाले अपराह्न इलाका प्रहरी कार्यालय दोभानमा जानकारी गराएपछि प्रहरी निरीक्षक दीपक लिम्बुको कमाण्डमा ५ जनाको टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी, आफन्त तथा स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजतलास गरे पनि साँझसम्म बालक फेला परेका छैनन्।खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




















