बिर्तामोड। झापाको भद्रपुर र बिर्तामोडमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते भएका छन्।

भद्रपुर नगरपालिका–१ कुलेचोकस्थित भित्री सडकखण्डमा गएराति करिब २ बजे हिमाली चोकबाट सगरमाथा चोकतर्फ जाँदै गरेको मे ७ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३२ वर्षीय योगराज लिम्बु घाइते भएका हुन्।

उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। पछि थप उपचारका लागि उनलाई ओमसाई पाथिभरा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

यस्तै, बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेण्ड नजिक पूर्व–पश्चिम राजमार्गमा वैशाख ९ गते राति ९:२० बजे मे ११ प ९९६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक सुभम राई, पछाडि सवार कुशल भट्टराई, अर्का मोटरसाइकल चालक मनकुमार खतिवडा र उनकी श्रीमती डम्बर कुमारी खतिवडा घाइते भएका छन्। उनीहरूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुवै दुर्घटनामा संलग्न सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।