बिर्तामोड— बिर्तामोड नगरपालिका–३ भाटभटेनी नजिक पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन्।

बिराटनगरबाट बनियानीतर्फ जाँदै गरेको मे १ ख २६२६ नम्बरको यात्रूबाहक बसले सोही दिशातर्फ गइरहेको प्र.१–०१–००२ ह ५१९८ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक कचनकवल गाउँपालिका बनियानी निवासी ३८ वर्षीय अस्मुदिन अन्सारी गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। अन्य ६ जना घाइतेहरूको अवस्था सामान्य रहेको छ।

घाइतेहरूमा कल्पना चापागाई (२२), भावना अधिकारी (३७), साबिया अधिकारी (४), लक्ष्मी नेपाल (५०), सुगम नेपाल (१२) र गणेश श्रेष्ठ (५३) रहेका छन्। उनीहरू सबैको टाउको तथा हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

सबै घाइतेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बस, अटो तथा बस चालक शिवसताक्षी नगरपालिका–११ निवासी ३६ वर्षीया सुमन उप्रेतीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।