बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–६ मेचिडाँडा क्षेत्रमा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्।
आज दिउसो लागूऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट मेची खोलाको बाटो हुँदै पैदल नेपाल प्रवेश गर्दै गरेका काठमाडौं शंखरापुर नगरपालिका–८ का रोशन कार्कीलाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा कार्कीले लगाएको पाइन्टको दाहिने गोजीबाट सेतो प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। डिजिटल तराजुबाट नापतौल गर्दा प्लास्टिकसहित ५३ ग्राम ८०० मिलिग्राम तथा प्लास्टिक बाहेक ४८ ग्राम ६० मिलिग्राम पदार्थ रहेको पाइएको थियो।
प्रहरीले कार्कीको साथबाट उनले प्रयोग गरिरहेको आईफोन १६ प्रो म्याक्स मोबाइल सेट र नगद ८ हजार रुपैयाँ समेत बरामद गरेको छ।
पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















