झापा ।  दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै अर्जुनधारा–१ ले वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

अर्जुनधाराको नमुना खेल मैदानमा आइतबार सम्पन्न रोमाञ्चक प्रतिष्पर्धामा अर्जुनधारा–८ लाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १ च्याम्पियन बनेको हो ।

खेलको पहिलो हाफमा अर्जुनधारा–८ ले २–० को सुरक्षित अग्रता बनाएको थियो । २०औँ मिनेटमा निखिल तामाङले  गोल गर्दै टोलीलाई अघि बढाएका थिए भने ३४औँ मिनेटमा राजिव ढुंगानाले गोल थप्दै अग्रता दोब्बर पारे । तर दोस्रो हाफमा अर्जुनधारा–१ ले उत्कृष्ट पुनरागमन गर्‍यो । ५२औँ मिनेटमा मिराज मल्लले गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि ६६औँ मिनेटमा युगल राईले जाली चुमाउँदै खेल २–२ को बराबरीमा पुर्‍याए ।

निर्धारित समयमा २-२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा अर्जुनधारा–१ का विशाल गोले, तेजन बुर्जामगर, मनोज राई, मिराज मल्ल र युगल राईले गोल गरे । अर्जुनधारा–८ का अर्पित मगर, निशेष भण्डारी र राजिव ढुंगानाले गोल गरे पनि निखिल तामाङको प्रहार अर्जुनधारा–१ का गोलरक्षक बुद्ध नेम्बाङले विफल बनाएपछि नतिजा वडा नम्बर १ को पक्षमा गएको हो ।

फाइनल खेलमा अर्जुनधारा–१ का सुवास राई ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँ प्राप्त गरे । 

व्यक्तिगत विधातर्फ मिराज मल्ल ‘राइजिङ प्लेयर’, युगल राई ‘उत्कृष्ट स्ट्राइकर’, बुद्ध नेम्बाङ ‘उत्कृष्ट गोलरक्षक’ तथा अभिषेक मगर ‘उत्कृष्ट प्रशिक्षक’ घोषित भए । अर्जुनधारा–८ का निखिल तामाङ सर्वाधिक गोलकर्ता बने भने क्षितिज अधिकारी उत्कृष्ट डिफेन्डर र निश्चल भण्डारी उत्कृष्ट मिडफिल्डर घोषित भए । सबैले ट्रफीसहित जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अर्जुनधारा–१ का मनोज राई घोषित भए । उनले ट्रफीसहित नगद पुरस्कार प्राप्त गरे ।

जेठ ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको विजेता अर्जुनधारा–१ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी उचाल्यो भने उपविजेता अर्जुनधारा–८ ले नगद ३० हजार रुपैयाँमा चित्त बुझायो ।

समापन समारोहमा अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली, वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेत, वडा नम्बर ८ का अध्यक्ष कुमारप्रसाद उप्रेती, वडा नम्बर ६ का अध्यक्ष हरिश्चन्द्र बाँस्तोला, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाललगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।