बिर्तामोड । इलामको फाकफोकथुम गाउँपालिका–३ घर भई बिर्तामोड नगरपालिका–१ बस्दै आएका अन्दाजी ४५ वर्षीय राजकुमार थेगिमको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार थेगिम जेठ १५ गते साँझ घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। खोजतलासका क्रममा जेठ १६ गते राति करिब ८:४५ बजे बिर्तामोड नगरपालिका–३ आदर्शचोकस्थित सडक छेउमा चिउँडोमा सामान्य चोट लागेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पठाएको थियो। उपचारकै क्रममा राति ९:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको छ। प्रारम्भिक बुझाइ अनुसार थेगिमले अत्यधिक मदिरा सेवन गर्ने गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















