अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।
सडक डिभिजन कार्यालय दमकले अर्जुनधारा–७ स्थित खुदुनाबारी–शनिश्चरे सडक अन्तर्गत बिरिङ खोलामा मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । संघीय सरकारको बजेटबाट निर्माण हुन लागेको उक्त पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा निर्माण गरिनेछ ।
स्रोत सुनिश्चित भएर पुल निर्माणका लागि ठेक्का प्रक्रियामा गएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिए । ‘पुल भत्केको लामो समयसम्म ठेक्का लाग्न नसकेपछि डेलिकेशन लिएर सिंहदरबार समेत पुगेका थियौं’, उनले भने, ‘ठेक्का आह्वान भएसँगै पुल निर्माण निश्चित भएको छ ।’
बिरिङ खोलामा पुल निर्माण नहुँदा यस क्षेत्रका हजारौं बासिन्दाले सास्ती भोग्दै आएका छन् । पुलसँगै ९५० मिटर नदी नियन्त्रणका लागि तटबन्द गर्नुपर्ने र करिब २०० मिटर एप्रोच सडक निर्माण गर्नुपर्ने अवस्था रहेको नगरप्रमुख गोम्देनले बताए । करिब २५ करोड रुपैयाँको लागतमा पुल निर्माणका लागि ठेक्का आह्वान भएकाे छ ।
सडक डिभिजन कार्यालय दमकले २०८३ जेठ ७ गते प्रकाशित गरेको बोलपत्र सूचनाअनुसार बिरिङ खोलामा १६० मिटर लामो स्थायी मोटरेबल पुल निर्माण गरिनेछ । पुल प्रिकास्ट, प्रि–स्ट्रेस्ड कङ्क्रिट (पीएससी), स्टिल, सस्पेन्सन, केबल स्टेड, आर्च वा अन्य नवीन प्रविधिमा आधारित हुन सक्ने उल्लेख गरिएको छ ।
प्रस्तावित पुलमा ७.५ मिटर चौडाइको सवारी मार्ग रहनेछ भने दुवै तर्फ १.७५–१.७५ मिटर चौडाइका पैदलमार्ग (फुटपाथ) निर्माण गरिनेछ। पुलमा सुरक्षा रेलिङ, कर्ब तथा आधुनिक संरचनात्मक मापदण्डसमेत समावेश गरिने जनाइएको छ।
डिजाइन अनुसार पुल ५ वटा स्पानमा निर्माण हुनेछ, प्रत्येक स्पानको लम्बाइ ३२ मिटर रहनेछ। आरसीसी प्रविधिमा आधारित हुनेछ भने आवश्यक अध्ययनपछि पुलको उचाइ तथा जग निर्माण गरिने उल्लेख गरिएको छ।
ठेक्का दस्तावेजमा प्रिकास्ट, स्टिल, सस्पेन्सन, केबल–स्टेड, आर्च वा अन्य नवीन प्रविधिका स्थायी पुल निर्माण गर्न सकिने उल्लेख भए पनि काठे तथा अस्थायी पुल भने निर्माण गर्न नपाइने व्यवस्था गरिएको छ।
यस पुल निर्माणपछि अर्जुनधारा क्षेत्र तथा खुदुनाबारी–सानिश्चरे सडक प्रयोग गर्ने स्थानीयवासीलाई वर्षायाममा हुने आवागमन समस्याबाट राहत पुग्ने अपेक्षा गरिएको छ। बिरिङ खोलाले वर्षेनी यातायातमा अवरोध सिर्जना गर्दै आएको छ।


















