बिर्तामोड । झापाको बिर्तामोडमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–६ रिजालगाउँका ३३ वर्षीय इन्द्रमणि अर्याल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो करिब ३ः२० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–१ स्थित बिर्तामोड आँखा अस्पतालअगाडि दुर्घटना भएको हो ।
प्रहरीका अनुसार सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१८ प ५७५४ नम्बरको पल्सर मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४७०७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बसको दायाँतर्फ ठोक्किएको थियो ।
बसमा ठोक्किएपछि पल्सर विपरीत दिशाबाट आउँदै गरेको मे १० प ७२५७ नम्बरको एफजेड मोटरसाइकलसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पल्सर चालक अर्याल गम्भीर घाइते भएका थिए । टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई तत्काल बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एफजेड मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २० वर्षीय अनीश राजवंशी घाइते भएका छन् । उनको दाहिने खुट्टा र हातमा चोट लागेको छ ।
दुर्घटनामा संलग्न बस, बस चालक विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय गङ्गा श्रेष्ठ तथा दुवै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




















