अर्जुनधारा । टाइब्रेकरको मद्दतले चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो सेमिफाइनलमा झिलझिले भेट्रान्सलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै चारपानेले फाइनलको यात्रा तय गरेको हो। निर्धारित ६० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।

चारपानेका लागि सन्तोष राईले खेलको २५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। कप्तान गणेश लिम्बूको क्रस पासमा प्राप्त अवसरलाई सदुपयोग गर्दै राईले गोल गरेका हुन्। दोस्रो हाफमा झिलझिलेका कप्तान जसु राईले ५०औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

टाइब्रेकरमा चारपानेका सन्तोष राई, सुदीप श्रेष्ठ, प्रविन बिक र सुवास आङथुपोले गोल गरे। चारपानेका विकास थुलुङको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो। झिलझिलेका रोजिन शिवाकोटी र जसु राईले गोल गरे भने टिकाराम खेवाङ र श्यामबहादुर इजमको प्रहार चारपानेका गोलकिपर रुपक गुरुङले बचाए।

चारपानेका गोलकिपर रुपक गुरुङ प्लेयर अफ द म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले पुरस्कार प्रदान गरे ।

फाइनल प्रवेशसँगै चारपानेले कम्तिमा ३१ हजार रुपैयाँ पुरस्कार पक्का गरेको छ। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक सालबारी–मिलडाँडा भेट्रान्स र बिर्तामोड भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

असोज २४ गते हुने फाइनलको विजेताले ५१ हजार रुपैयाँसहित ट्रफी तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए।